विद्यालयमा अपाङ्गता भएका बालबालिकाको भर्ना गर्न र छात्रवृत्ति प्राप्त गर्ने प्रक्रिया सम्बन्धी सरल जानकारी

क) उद्देश्ययो जानकारी नेपालमा विद्यालय जाने उमेरका ५ देखि १८ वर्षसम्मका अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा भर्ना गराउन र भर्ना गराइसकेपछि नेपाल सरकारबाट प्राप्त हुने अपाङ्गता छात्रवृत्ति प्राप्त गर्ने प्रक्रियाको बारेमा सम्बन्धित सबैलाई जानकारी होस् भनी तयार गरिएको हो। विद्यालय भर्ना र छात्रवृत्तिको लागि पुरा गर्नुपर्ने विभिन्न चरणहरू पहिलो चरण: अपाङ्गता परिचयपत्र प्राप्त गर्नुहोस्अपाङ्गता भएका बालबालिकालाई […]

Resource Details

Resource Type
none
Keywords
none

क) उद्देश्य
यो जानकारी नेपालमा विद्यालय जाने उमेरका ५ देखि १८ वर्षसम्मका अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा भर्ना गराउन र भर्ना गराइसकेपछि नेपाल सरकारबाट प्राप्त हुने अपाङ्गता छात्रवृत्ति प्राप्त गर्ने प्रक्रियाको बारेमा सम्बन्धित सबैलाई जानकारी होस् भनी तयार गरिएको हो।

विद्यालय भर्ना र छात्रवृत्तिको लागि पुरा गर्नुपर्ने विभिन्न चरणहरू

पहिलो चरण: अपाङ्गता परिचयपत्र प्राप्त गर्नुहोस्
अपाङ्गता भएका बालबालिकालाई विद्यालय भर्ना गराउनकै लागि भनेर परिचयपत्र अनिवार्य हुँदैन, तर सेवा सुविधाहरू लिनको लागि यो अनिवार्य हुन्छ। त्यसैले विद्यालय भर्नामा परिचयपत्र नचाहिए तापनि छात्रवृत्ति लिनको लागि अनिवार्य चाहिन्छ। त्यसैले अपाङ्गता भएका बालबालिकाको सकेसम्म विद्यालय भर्ना हुनुभन्दा पहिले नै वा विद्यालय भर्ना हुनासाथ अपाङ्गता परिचयपत्र बनाउनुहोस्। यस्तो परिचयपत्र स्थानीय पालिकाले उपलब्ध गराउँछ। परिचयपत्र बनाउने प्रक्रिया सुरु गर्न आफू स्थानीय रूपमा बसोबास गर्ने वडाको वडा कार्यालयमा सम्पर्क गर्नुहोस्।

दोस्रो चरण: उपयुक्त विद्यालय छनोट गर्नुहोस्
नेपालमा अपाङ्गता भएका बालबालिकाहरू सामान्य विद्यालय र विशेष विद्यालय गरी दुई प्रकारका विद्यालयमा अध्ययन गर्छन्। सामान्य विद्यालयमा पनि अपाङ्गता भएका बालबालिकालाई स्रोत कक्षा र समावेशी कक्षा गरी दुई किसिमका कक्षाहरूमा राखेर सिकाइन्छ। स्रोत कक्षा भनेको विद्यालय एउटै भए तापनि निश्चित प्रकृतिको अपाङ्गता भएका बालबालिकालाई मात्र पढाइने कक्षा अलग गरिएको हुन्छ। केही-केही गतिविधिहरूमा बाहेक धेरैजसो अवस्थामा उनीहरू छुट्टै कक्षामा बसेर पढ्छन्। तर समावेशी कक्षामा भने अपाङ्गता भएका र नभएका दुवै खाले बालबालिकाहरू सँगै एउटै कक्षामा बसेर पढ्छन्। यसैगरी अपाङ्गता भएका बालबालिकाको लागि मात्र अलग्गै विद्यालय खोली विशेष शिक्षकहरू राखी पढाइने विद्यालयलाई चाहिँ विशेष विद्यालय भनिन्छ। त्यसैले तपाईंले यस्ता विद्यालयमा भर्ना गर्नुभन्दा पहिले वरिपरिका विद्यालयहरू र तिनिहरूका प्रकारहरूको अध्ययन गर्नुहोस् र उपयुक्त विद्यालय छनोट गर्नुहोस्। सकेसम्म समावेशी कक्षामा भर्ना गर्नुभयो भने उपयुक्त हुन्छ, तर विभिन्न कारणले तपाईंलाई समावेशी कक्षामा भर्ना गराउन कठिनाइ हुन सक्छ। त्यस्तो अवस्थामा तपाईं स्रोत कक्षालाई दोस्रो विकल्पको रूपमा लिन सक्नुहुन्छ।

विद्यालय छनोट गर्दा ध्यान दिनुपर्ने अन्य थप कुराहरू:

  1. विद्यालयको दूरीमा ध्यान दिनुहोस्।
  2. डेरा गरी बस्नुपर्ने अवस्था हो वा होइन, पहिचान गर्नुहोस्।
  3. विद्यालय पहुँचयुक्त छ कि छैन, ध्यान दिनुहोस्।
  4. आवश्यक सहयोग (सहायक सामग्री, स्रोत शिक्षक, सङ्केतिक भाषा आदि) उपलब्ध छ कि छैन?"

तेस्रो चरण: विद्यालय भर्ना गर्नुहोस
अपाङ्गता भएका बालबालिकालाई विद्यालय भर्नाका लागि विद्यालयले उपलब्ध गराएको फारम भर्नुपर्छ। भर्ना गर्दा न्यूनतम निम्न कागजात आवश्यक हुन्छन्:

  1. जन्मदर्ता प्रमाणपत्र
  2. अभिभावकको नागरिकता
  3. ४ प्रति पासपोर्ट साइज फोटो
  4. विद्यालयले माग गरेका अन्य आवश्यक कागजात

चौथो चरण: EMIS मा विवरण दर्ता
विद्यालयमा भर्ना भइसकेपछि विद्यालयले विद्यार्थीको सम्पूर्ण विवरण शैक्षिक व्यवस्थापन सूचना प्रणाली (Education Management Information System - EMIS) मा प्रविष्ट गर्छ। EMIS मा अपाङ्गता भएको वा नभएको विवरण पनि समावेश गरिन्छ। सामान्यतया EMIS मा विद्यार्थीको विवरण दर्ता गर्ने निश्चित समय तोकिएको हुन्छ, जस्तै: वैशाखदेखि असारसम्म। तर अपाङ्गता भएका बालबालिकाको हकमा विद्यालय भर्ना जुनसुकै बेला पनि गर्न सकिने प्रावधान भएको हुनाले उनीहरूको EMIS दर्ता पनि सोहीअनुसार हुन्छ।"

पाँचौँ चरण: छात्रवृत्तिका लागि निवेदन दिनुहोस्
EMIS मा विवरण दर्ता भइसकेपछि सम्बन्धित विद्यालयले अपाङ्गता भएका बालबालिकाको लागि चार प्रकारका छात्रवृत्तिमध्ये कुन छात्रवृत्ति उपलब्ध गराउने भन्ने विषयमा निर्णय लिन आवश्यक प्रक्रिया सुरु गर्छ। यस बीचमा यदि भर्ना भएको अपाङ्गता भएको व्यक्ति एक्लै वा आफ्नो अभिभावकसहित कतै डेरा गरी बसेर पढ्नु पर्ने अवस्था हो भने आवासीय छात्रवृत्ति प्राप्त गर्नको लागि डेरा गरी बसेकै वडाको वडा कार्यालयको सिफारिस पेस गर्नुपर्छ।

छैठौँ चरण: छात्रवृत्तिको विवरण विद्यालयले शिक्षा शाखामा पठाउँछ
छात्रवृत्तिको लागि आवेदन सङ्कलन गरिसकेपछि विद्यालयले उक्त विवरण प्रमाणित गरी सम्बन्धित पालिकाको शिक्षा शाखामा पठाउँछ र शिक्षा शाखाले उक्त पालिकाका सबै विद्यालयका छात्रवृत्तिका यस्ता विवरणहरू सङ्कलन गरी छात्रवृत्ति रकम दाबी गर्दै सङ्घीय तहमा रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा पठाउँछ।

सातौँ चरण : छात्रवृत्ति रकम वितरण
संघिय तहमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरिबाट आएका यस्ता विवरणहरूको अध्ययन गरी आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्छ र सम्बन्धित पालिकालाई बजेट उपलब्ध गराउँछ। सम्बन्धित पालिकाले हरेक विद्यालयलाई उनीहरूले पठाएको विवरणको आधारमा छात्रवृत्तिको रकम विद्यालयको खातामा पठाइदिन्छ र विद्यालयले सम्बन्धित विद्यार्थीलाई निज जुन प्रकारको छात्रवृत्तिको लागि छनोट भएको हो, सोही प्रकारको छात्रवृत्ति उपलब्ध गराउँछ। छात्रवृत्ति उपलब्ध गराउँदा एक वर्षमा १० महिनाको लागि मात्र उपलब्ध गराइन्छ। यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने, पहिलो पटक छात्रवृत्तिको लागि आवेदन दिइएको हो भने उक्त आवेदन दिइएकै आर्थिक वर्षमा छात्रवृत्ति प्राप्त हुँदैन।

अपाङ्गता भएका बालबालिकालाई नेपाल सरकारले उपलब्ध गराउने छात्रवृत्तिका प्रकार
नेपाल सरकारले विद्यालय भर्ना भएका सबै अपाङ्गता भएका बालबालिकालाई चार प्रकारका छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था गरेको छ। तर यस्तो छात्रवृत्ति सामुदायिक विद्यालयमा अध्ययन गर्ने अपाङ्गता भएका बालबालिकाले मात्र पाउँछन्; निजी विद्यालयमा अध्ययन गर्नेहरूले पाउँदैनन्।
१. आवासीय (Residential) छात्रवृत्ति
यो छात्रवृत्ति मुख्यतया विद्यालय वा स्रोत कक्षाको आवासीय सुविधामा बसेर वा पढ्नको लागि छुट्टै डेरा लिएर बसेर पढिरहेका अपाङ्गता भएका बालबालिकालाई उपलब्ध गराइने छात्रवृत्ति हो। यस्तो छात्रवृत्ति मासिक रु. ५,००० का दरले १० महिनाको जम्मा रु. ५०,००० उपलब्ध गराइन्छ। यसअन्तर्गत सामान्यतया खाना, बसोबास, पोसाक, शैक्षिक सामग्री र अन्य आधारभूत खर्च समावेश हुन्छ। यसबाहेक, पूर्ण श्रवणदृष्टिविहीनता भई चौबीसै घण्टा अभिभावक वा संरक्षकको सहयोग चाहिने 'क' श्रेणीका बालबालिका र बहुअपाङ्गता भई निरन्तर अभिभावकको आवश्यकता पर्ने बालबालिकाको हकमा भने यो छात्रवृत्ति पाउनको लागि आवासीय हुनैपर्छ भन्ने छैन; गैरआवासीय भए पनि पाइन्छ।

२. गैर-आवासीय (Non-Residential) छात्रवृत्ति
गैरआवासीय छात्रवृत्ति खास गरेर आफ्नो घरबाट दैनिक विद्यालय आवतजावत गर्ने अपाङ्गता भएका बालबालिकालाई प्रदान गरिन्छ। यस छात्रवृत्तिलाई तीन वर्गमा विभाजन गरिएको छ:
क) सहयोगी सहायता सेवा छात्रवृत्ति: सहयोगी सहायता सेवा छात्रवृत्ति घरबाट आउँदा-जाँदा र विद्यालयमा रहँदा निरन्तर अरूको सहयोग र साधन आवश्यक पर्ने अपाङ्गता भएका विद्यार्थीलाई उपलब्ध गराइन्छ। यस्तो छात्रवृत्ति प्रतिमहिना रु. ५०० का दरले १० महिनाका लागि रु. ५,००० उपलब्ध गराइन्छ।
ख) यातायात सेवा छात्रवृत्ति: घरबाट आउँदा-जाँदा यातायातका साधन वा अन्य उपकरण प्रयोग गर्नुपर्ने अपाङ्गता भएका बालबालिकालाई यो छात्रवृत्ति उपलब्ध गराइन्छ। यस्तो छात्रवृत्ति प्रतिमहिना रु. ३०० का दरले १० महिनाका लागि रु. ३,००० उपलब्ध गराइन्छ।
ग) शैक्षिक सामग्री छात्रवृत्ति: घरबाट विद्यालयसम्म बिना कुनै व्यक्तिगत सहयोग साथीसँग वा आफैँ आउन-जान सक्ने अवस्थाका अपाङ्गता भएका विद्यार्थीलाई प्रतिमहिना रु. १०० का दरले १० महिनाको रु. १,००० छात्रवृत्ति प्रदान गरिन्छ।

उजुरीसम्बन्धी नोट: नेपालको संविधानले सबै बालबालिकालाई निःशुल्क शिक्षा दिनुपर्ने व्यवस्था गरेको छ र कानुनहरूले अपाङ्गता भएका बालबालिकालाई भर्ना लिनबाट रोक्न वा अस्वीकार गर्न नपाइने स्पष्ट व्यवस्था गरेको हुनाले यदि कुनै विद्यालयले अपाङ्गता भएका बालबालिकालाई भर्ना लिन नमानेको खण्डमा सो विद्यालय रहेको स्थानीय तहको शिक्षा शाखामा तत्काल उजुरी दिन सक्नुहुनेछ।

Download Options

Choose the format that works best for you:

Related Resources

Logo of APEIRON
The Resource Center for Rehabilitation and Development (RCRD) is a pioneering organization dedicated to promoting the rights and inclusion of children and persons with disabilities in Nepal.
DAO Regd. no345/1999
SWC Affiliation no8782/1999

Explore

Contact

Indrayani Pith Khauma Bhaktapur-2, Nepal
+977 01 6612365
RCRD Facebook
© Copyright RCRD NEPAL. Website by: Diverse Patterns
crossmenu