यूरोपियन युनियनको आर्थिक सहयोगमा सेभ द चिल्ड्रेनको नेतृत्व र नेपाल राष्ट्रिय समाज कल्याण संघ, सेभ द सप्तरी र पुनर्स्थापना तथा विकास स्रोत केन्द्र नेपालसँगको साझेदारीमा "गुणस्तरीय शिक्षाः कोही पनि पछाडी नपरून” नामक कन्सोर्टियम परियोजना सुदुरपश्चिम, कर्णाली र मधेद प्रदेशका विभिन्न पालिकाहरूमा सञ्चालन भइरहेको छ। यो परियोजनाले नेपालमा समावेशी शिक्षाका क्षेत्रमा विद्यमान चुनौतीहरूलाई उजागर गर्दै मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा सफलतापूर्वक कार्यान्वयन भइरहेको छ।
नेपाल राष्ट्रिय समाज कल्याण संघको अगुवाइमा जाजरकोट, कालीकोट र कञ्चनपुरका पालिका-स्तरीय बाल सञ्जालका प्रतिनिधिहरूको सहभागितामा आयोजित तीन दिने नेतृत्व तथा पैरवी तालिममा सहभागी बालबालिकाहरूले शिक्षामा रहेका विविध बाधा-अवरोधहरूको पहिचान गरी तिनको समाधानका लागि ठोस र व्यावहारिक उपायहरू पस्तुत गर्न लगाई ती विचारहरूलाई नीति निर्माता, शिक्षक र सरोकारवालाहरूसम्म पुर्याउन सूचना, शिक्षा र सञ्चार सामग्री (IEC Materials) तयार गर्न समेत लगाईएको थियो । बालबालिकाहरूले आफ्नो अनुभव र चिन्तनबाट प्रस्तुत गरेका विषयवस्तुहरूलाई दक्ष सहजकर्ताहरूको सहयोगमा व्यवस्थित र परिमार्जित गरी सूचना, शिक्षा तथा सञ्चार सामग्री (IEC Materials) को रूपमा विकास गरिएको छ। यी सामग्रीहरूलाई तल प्रस्तुत गरिएका १२ वटा प्रमुख शीर्षकहरूमा वर्गीकरण गरी अन्तिम रूप दिइएको छ, जसले समावेशी शिक्षाको प्रवर्द्धनमा कोसेढुङ्गा साबित हुने विश्वास गरिएको छ।
यी शैक्षिक सामग्रीहरू विकास गर्नुको मुख्य लक्ष्य तीन वटा छन्: पहिलो, समावेशी शिक्षामा देखिएका बाधाहरूको पहिचान र तिनको समाधान खोज्नु; दोस्रो, शिक्षाको पक्षमा गरिने पैरवीलाई बलियो बनाउनु; र तेस्रो, दीर्घकालीन समाधानका लागि सबै सरोकारवालाहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नु।
सूचना, शिक्षा र सञ्चार सामग्री (IEC Materials) निर्माणका लागि तयार गरिएका विषयहरू:
१. पारिवारिक वातावरण:
अवस्था: घर पहिलो पाठशाला हो, दुवै बालक-बालिकालाई समान व्यवहार गरेको, शारीरिक फरक क्षमता भएकाहरूलाई सिकाइ सहयोग गरिरहेको, अपाङ्गमैत्री भौतिक संरचना भएको - नल्का, धारा, शौचालय, घरभित्र जाने सिँढी, घरको चुकुल आदि।
२. शिक्षाका अवरोधहरू:
अवस्था: नदी पार गर्दा ह्वीलचेयर लिएर उभिएको, अगाडि अवरोधहरूका सिँढीहरू - पुल काठको, बाटो ढुङ्गाको, विद्यालयको कम्पाउण्ड भित्ता वा पर्खाल, विद्यालय भित्र जाने र शौचालयको सिँढी अग्लो वा खानेपानी धारा अपाङ्गमैत्री नभएको आदि।
३. समुदायको संलग्नता:
अवस्था: समावेशी शिक्षाको लागि सहकार्य सहयोग - प्रमुख व्यक्ति, बुद्धिजीवीहरू, अभिभावक, छिमेकी, धार्मिक गुरु, नेता, जातजाति, क्लब, आमा समूह, सामुदायिक समूह आदि।
४. साथी वा दौंतरी सहयोग:
अवस्था: शिक्षामा कसैलाई पछाडि नछोडौँ - घरबाट विद्यालय आउँदा बाटोमा, पढाइमा, अतिरिक्त क्रियाकलापमा, खेलमा सँगसँगै सहयोग गरिरहेको वा सिकाइरहेको दृश्य आदि।
५. बालबालिकाको समावेशी, समतामूलक र गुणस्तरीय शिक्षामा लगानी:
अवस्था: सडक नाटक, र्याली, पोस्टर, पम्प्लेट, गोष्ठी आदिद्वारा जनचेतनामूलक अभियान/अभिमुखीकरण (हानिकारक सामाजिक प्रथा/अभ्यास, समावेशी शिक्षामा जोड दिएको, सबैको एउटै आवाज रहेको)।
६. भएका/बनेका नीतिनियम कार्यान्वयनको अनुगमन भएको सुनिश्चितता:
अवस्था: विद्यालय व्यवस्थापन समिति, पालिकाबाट शिक्षा समिति, प्र.अ.बाट गुणस्तरीय शिक्षा भइरहेको छ वा छैन अनुगमन गरेर शिक्षकहरूलाई पृष्ठपोषण दिइरहेको आदि।
७. नीतिनिर्माण प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता:
अवस्था: सबै अवस्थाका बालबालिकाहरूलाई वडा, पालिका, विद्यालय, समुदायस्तरका हरेक नीतिनिर्माण, निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता भएको।
८. विद्यालय भर्ना, निरन्तरता र समावेशी गुणस्तरीय शिक्षाको अभियान:
अवस्था: निःशुल्क विद्यालय भर्ना अभियानको लागि घरभेट, विद्यालय बाहिर रहेका बालबालिकाहरूलाई पुनः भर्ना गराउन अभिभावक अन्तरक्रिया वा घरभेट, गुणस्तरीय शिक्षाका लागि शिक्षकहरूलाई चेतनामूलक अभिमुखीकरण आदि।
९. बालमैत्री, लैङ्गिकमैत्री र अपाङ्गतामैत्री पूर्वाधार:
अवस्था: भवन, बाटो, शौचालय, खानेपानी, बस्ने बेन्च टेबल, कक्षाकोठा, खेलकुद मैदान आदि सबैका लागि पहुँचयोग्य विद्यालय, सहज रूपमा स्यानिटरी प्याड डिस्पोजलको व्यवस्था, समावेशी भौतिक पूर्वाधार।
१०. बालमैत्री व्यवहार:
अवस्था: विद्यालयमा सबैबाट (गार्ड, सहयोगी कर्मचारी, शिक्षकवर्ग, दौंतरीहरू, अन्य आउने पाहुनाहरू आदिबाट) समान व्यवहार, भयरहित शिक्षण सिकाइ (निर्देशिका अक्षरशः पालना गरेको), सहज वातावरण।
११. उपचारात्मक शिक्षण, थप सिकाइको अवसर:
अवस्था: विद्यालयको नियमित पढाइमा नबुझिएका, पढाइमा कमजोर बालबालिकाहरूलाई वा फरक सिकाइका लागि थप कक्षाको व्यवस्था भएको। विषयगत रूपमा अनुगमन र मूल्याङ्कनका आधारमा उपचारात्मक शिक्षण र छुट्टै सिकाइको अवसर प्रदान गरिएको।
१२. तालिम प्राप्त शिक्षक:
अवस्था: विद्यालयमा बालबालिकाहरूको अवस्था पहिचान गरी हरेक किसिमका बालबालिकाहरूलाई शिक्षण गर्न सक्ने सक्षम शिक्षकको व्यवस्था भएको। जस्तै: स्थानीय भाषा शिक्षक, साङ्केतिक भाषा शिक्षक, अपाङ्गतामैत्री शिक्षण प्राविधिक ज्ञान भएको, व्यवहारिक जीवन उपयोगी सीप भएको शिक्षक आदि।